शिक्षकहरुले आन्दोलनको मोर्चा बनाउने

संघीयता कार्यान्वयनसँगै राहत शिक्षकहरुलाई स्थायीको प्रक्रियामा लैजानुपर्ने मागसहित राहत शिक्षकहरुले आन्दोलनको मोर्चा बनाउने भएका छन् ।
ओखलढुङ्गा मात्रै कुल राहत शिक्षक संख्या ४ सय २७ जना छन् । यसमध्ये साविकको तह अनुसार मावि ९४, निमावि ८८ र प्रावि २ सय ९५ राहत शिक्षक छन् ।
सबै राहत शिक्षक सम्मिलित स्थानीय तह अनुसारको समिति गठन भइसकेको छ । फागुन १५ गतेभित्र सबै स्थानीय तहमा समिति गठन गरी अधिवेशन गर्ने र प्रदेशले संयुक्त रुपमा मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।


शिक्षाक सेवा आयोगले चैतमा लिने अस्थायी शिक्षकलाई स्थायी बनाउने परिक्षामा राहतलाई पनि स्थायी प्रक्रियामा लैजानुपर्ने उनीहरुको माग रहेको छ । ‘एउटै प्रकृतिको नियुक्ति, उही प्रकारको सेवा र उस्तै काम अस्थायी र राहत शिक्षकको अस्थायी र राहतमै पनि सरकारले विभेद गरेको छ’, राहत शिक्षक संघका प्रदेश समितिका कोषाध्यक्ष रामजी दाहालले बताउनुभयो, ‘दवाव दिन हामी संगठित भएर आन्दोलनको मोर्चा बनाउन थालेका छौं ।’


नयाँ संरचनासँगै राहत शिक्षकको विषयमा नेपाल सरकार, शिक्षा मन्त्रालय, विभाग र शिक्षा सेवा आयोगले केही स्पष्ट नपारेको कारण संघको नाममा आफूहरु संगठित भएको उनीहरुले बताएका छन् ।
शक्षा सेवा आयोगले राहत शिक्षकलाई सेवा गरे बापत अनुभवको आधारमा आयोगको परिक्षामा सहभागी हुँदा वर्षको १ अंक दिने भन्ने उल्लेख गरेको छ । तर, आयोग बर्सेनी नखुल्ने भएकोले कतिपय राहत शिक्षकलाई उमेरको हदबन्दीले गर्दा अन्यायमा परेको उनीहरु बताउ“छन् ।

Comments