धरानलाई स्मार्ट सिटी बनाउछौंः मुख्यमन्त्री शेरधन राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ को स्मार्ट सिटी धरानलाई बनाउने बताउनु भएको छ । भौगोलिक बनावट, जातिय समिश्रण र जनसहभागितामा आधारित पर्यटकीय शहर धरानको स्तरोन्नति गर्दै प्रदेश नम्बर १ को स्मार्ट सिटी बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो । 


धरानलाई कस्तो शहर बनाउने भन्ने विषयमा मुख्य मन्त्रीको हैसियतले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । धरानमा आज आयोजित किरात राई यायोक्खा सुनसरीको १४ औं साधारण सभा तथा सम्मान कार्यक्रममा मुख्य मन्त्री राईले धरानलाई स्मार्ट सिटी बनाउने तयारी भइरहेको बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘धरानमा आयोजना भएका कार्यक्रममा निरन्तर ३ दिनदेखि म धरानको कार्यक्रममा सहभागी भइरहेको छु, हरेक पटक यही विषयमा बोलिरहेको छु कि धरानलाई प्रदेश नम्बर १ कै स्मार्ट सिटी बनाउनु पर्छ र त्यसका लागि अहिले देखि नै संभाव्यता अध्ययन जरुरी देखिन्छ ।’ अगाडि नै बनिसकेका पुराना शहरलाई स्मार्ट सिटी बनाउन निकै गाह्रो हुने भएपनि पर्यटनसंग जोडेर धरान विभिन्न दृष्टकोणबाट स्मार्ट सिटी बनाउन सकिने एक मात्र शहर भएकाले सम्भाव्यता अध्ययनको तयारी भइरहेको उहाँले बताउनुभयो ।


  मुख्यमन्त्री राईले धरानले हिमाल, पहाड र तराई जोड्ने संगम स्थलको काम गरेकाले स्माट सिटी बन्न सक्ने आधार भएको उल्लेख गर्नुभयो । धरानदेखि भेडेटार हुँदै बराहक्षेत्र देखि धरानसम्म केवुलकार सञ्जाल बिस्तार गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्न अब प्रदेश सरकारको ध्यान धरानतिर केन्द्रित हुने उहाँको भनाई थियो । स्थानीय सरकारका प्रमुख तारा सुव्वालाई पर्यटनसंग जोडेर स्मार्ट सिटि बनाउने विषयमा ध्यान आकर्षण गराएको र त्यसका लागि प्रदेश सरकारले सहयोग र साथ दिने उहाँले उल्लेख गर्नुभयो । 

 
मुख्यमन्त्री राईले धरानमा विगत दुई दशक देखि आधा दर्जन भन्दा बढी प्रारम्भिक सर्भे गर्दा करीब १० करोड रुपैयाँ भन्दा बढी खर्च भएर पनि अलपत्र परेको धरानको एयरपोर्ट बनाउने योजना प्रति सकारको ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धरानको भाग्य र भविष्यसंग जोडिएको धरानको एयरपोर्ट किन बन्न सकेको छैन ? निर्माणका लागि कहाँ गाँठो र्पयो ? यस विषयमा स्थानीय सरकारलाई समेत ध्यानाकर्षण गराएर अध्ययन शुरु गरेका छौं ।’

Comments