रिटायर्ड उपसचिव पराल बाँध्ने मशिनमा रमाउँदै

रतुवामाई,१ फागुन
उमेरले ५६ बर्ष पुगेका रतुवामाई नगरपालिका ९ भौडाहाका बासिन्दा दीपक बुढाथोकी नेपाल सरकारको उपसचिव पदबाट रिटायर्ड ब्यक्ति हुन् । २७ बर्ष नेपाल सरकारको सेवा गरेका बुढाथोकी यतिबेला भने थ्रेशर वा दाँई गरेको पराल पोको पार्ने अर्थात् मुठा पार्ने मशिन ( सरल यन्त्र)को विकसित रुप निर्माण गर्नमा दिनरात मेहनत गरीरहेका छन् ।
बुढाथोकीका २ भाई छोराहरु मध्ये कान्छा छोरा काठमाण्डौ मुलपानीमा हाम्रो गाई तथा कृषि फारम लिमिटेड चलाएर बसिरहेका छन् । काठमाण्डौँ मुलपानीमा रहेको गाई फारमलाई आवश्यक पराल अत्यन्तै मंहगो हुने तर गाँउघर तिर धानको पराल कौडीको मूल्यमा पाइने चिन्ताले बुढाथोकीलाई सताई रहन्थ्यो । ट्रक,ट्रयाक्टरलगायतका सवारी साधनबाट पराल काठमाण्डौँ ढुवानी गर्दा बुढाथोकीले मन अत्यन्त खर्चिलो ढुवानीले पोलिरहन्थ्यो । मंहगो मूल्यमा ढुृवानी गर्दा फिजाँरिएको पराल गन्तब्यमा पु¥याउँदा आँखा नै नलाग्ने गरी हुन्थ्यो ।
तर अहिले अवस्थामा फेरिएको छ,बुढाथोकी आँफैले परिकल्पना तथा निर्माण गरेको पराल बाँध्ने अर्थात् मुठा पार्ने मशिनले प्रभावकारी काम गर्न थालेपछि बुढाथोकीले २ विगाहाको पराल कान्छो छोराको गाई फारममा पु¥याउन सफल हुनु भएको छ । सामान्य अवस्थामा एक विगाहाको पराल मुठा पार्ने हो भने करिब २ सय वटा मुठा बन्ने गर्दछ ।
तर बुढाथोकीले निर्माण गरेको मशिनले एक विगाहाको परालका ५० वटा भन्दा कम मुठा पार्दछ । औसतमा एउटा मुठाको तौल ३८ देखि ४२ केजी हुने गर्दछ ।
जसका आधारमा एक ट्रकमा दुई विगाहाबढीको पराल सजिलै ढुवानी गर्न सकिन्छ । खदिलो र कसिलो गरी बाँधिने पराल भण्डारण र ढुवानी गर्नपनि त्यत्तिकै सजिलो हुने बुढाथोकीको अनुभव छ ।
गियर,हेण्डिल,पुल्ली,टोचर तार,फ्रेम लगायतबाट निर्माण गरिएको सो पराल बाध्ने मशिनलाई हाईड्रोलिक प्रविधिमा रुपान्तरण गर्न आफू लागि परेको बुढाथोकीको दाबी छ ।
बुढाथोकीका अनुसार हाइड्रोलिक प्रविधिमा रुपान्तर गरेपछि २ जना मानिसले प्रतिदिन एक विगाहाको पराल सजिलै सँग बाध्न सक्छ । जसको भण्डारण र ढुवानी आधार भन्दा कम मूल्यमा गर्न सकिन्छ । यो प्रविधिले कृषकलाई परालको धन्धा ब्यवस्थापन गर्न आधाभन्दा कम समय लाग्ने र सतप्रतिशत सुरक्षित हुने बुढाथोकीको भनाई छ ।
 
Comments