प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनमा ३ सय ६४ प्रतिनिधिद्धारा मतदान,दुई जना प्रतिनिधिले भोट हालेनन्

विराटनगर २४ माघ
पुण्य पि अधिकारी
प्रदेश नम्बर १ को राष्ट्रिय सभा निर्वाचनमा कुल ३ सय ६७ मध्ये ३ सय ६४ जना प्रतिनिधिले मतदान गरेका छन् । प्रदेश १ को मुकाम विराटनगर महानगरपालिका ७ स्थित वीरेन्द्र सभागृहमा ३ बजे सम्पन्न निर्वाचनमा प्रदेश सभाका ९२ र स्थानीय तहका २ सय ७२ जनाले मतदान गरेका हुन् ।
विचार र आफ्नो उमेद्वार नभएको भन्दै प्रदेश सभा तर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ( कुमार लिङदेन )समानुपातिक सदस्य बिष्णु तुम्बाहाम्फेले मतदान गर्नु भएन । स्थानीय प्रमुख ÷उपप्रमुख मिकुवा खोला गाँउपालिका उपाध्यक्ष रुद्रकुमारी साँवाले ब्यक्तिगत कारण मतदान नगरेको मतदान अधिकृत पुण्यप्रसाद पाठकले बताए ।
राष्ट्रिय सभाका प्रतिनिधि हिमाल कार्की र स्थानीय तहका प्रतिनिधि कविता राईले सर्व प्रथम मतदान गरेका थिए ।
प्रत्येक प्रदेशमा ८ पदका लागि निर्वाचन हुने भएपनि प्रदेश १ मा ६ जना यसअघि निर्बिरोध भईसकेका छन् । प्रदेश १ मा दलित,अल्पसङ्ख्य तथा अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्वका लागि विहान १० बजेबाट निर्वाचन सुरु भएको थियो ।
प्रदेश १ मा दलितको १ र अपाङ्गता वा अल्पसङ्ख्यको १ पद गरी जम्मा २ सिटका लागि निर्वाचन भएको हो ।
दलित सदस्यमा एमालेबाट  विराटनगरका खेम नेपाली र कांग्रेसबाट झापाका बिनकुमार विश्वकर्मा चुनावी मैदानमा थिए । अल्पसङ्ख्य सदस्यमा एमालेबाट इलामका अगमप्रसाद बान्तवा र कांग्रेसबाट विराटनगरका उद्योगी महेशकुमार जाजु प्रतिस्पर्धामा छन् ।
प्रदेश १ बाट प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाध्यक्ष २ सय ७४ गरी ३ सय ६७ मतदातामध्ये संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको दुर्घटनामा मृत्यु भईसकेको छ ।
प्रदेश १ मा महिला ३,अन्य ( खुला ) ३,अपाङ्गा÷अल्पसङ्ख्य १ र दलित १ गरी ८ राष्ट्रियसभा सदस्यमध्ये महिला र अन्य ( खुला) सदस्या निर्बिरोध भएका कारण २ पदका लागि मात्र चुनाव भएको हो ।
मतदान सकिएपछि सभागृहमै  ४ बजेबाट मतगणना गर्ने तयारी भएको  निर्वाचन अधिकृत पाठकले जानकारी दिए । गणना सकिएपछि विहिवार विहान ८ बजे जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा निर्वाचित भएका आठै जनालाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रम तय गरिएको छ ।
मतगणना सहजीकरणका लागि केन्द्रीय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत उर्मिला शाहीको नेतृत्वमा ३ जनाको टोली विराटनगरमा छ । टोलीमा तथ्याङ्क अधिकृत प्रेमकुमार घिमिरे र अम्बिका रेग्मी छन् ।
मतदानमा एकल सङक्रमणीय तथा बहुमतीय दुबै निर्वाचन प्रणाली अपनाईएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।
Comments