१ नम्बर प्रदेशमा दुई पदका लागि राष्ट्रिय सभा निर्वाचन १० बजेपछि,दुई घण्टामा मतपरिणाम सार्वजनिक हुने


प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरमा दुई पदका लागि राष्ट्रिय सभा निर्वाचन विहान १० बजेबाट सुरु हुने भएको छ । प्रत्येक प्रदेशमा ८ पदका लागि निर्वाचन हुने भएपनि प्रदेश १ मा ६ जना यसअघि निर्बिरोध भईसकेका छन् । प्रदेश १ मा दलित,अल्पसङ्ख्य तथा अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्वका लागि विहान १० बजेबाट निर्वाचन सुरु हुने भएको हो ।
मतदान स्थलमा प्रदेश सांसदका लागि वीरेन्द्र सभागृहको उत्तरतर्फ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि दक्षिणतर्फ मतदान स्थल तोकिएको छ ।
विराटनगर महानगरपालिका वडा न.७ स्थित वीरेन्द्र सभागृहमा २ वटा मतदान केन्द्रमा मतदान सुरु भएको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले बताए । निर्वाचनमा कूल ३ सय ६७ मतदाताले मताधिकारको प्रयोग गर्दैछन् ।  प्रदेश १ मा दलितको १ र अपाङ्गता वा अल्पसङ्ख्यको १ पद गरी जम्मा २ सिटका लागि निर्वाचन भएको हो ।
दलित सदस्यमा एमालेबाट  विराटनगरका खेम नेपाली र कांग्रेसबाट झापाका बिनकुमार विश्वकर्मा चुनावी मैदानमा छन् । अल्पसङ्ख्य सदस्यमा एमालेबाट इलामका अगमप्रसाद बान्तवा र कांग्रेसबाट विराटनगरका उद्योगी महेशकुमार जाजु प्रतिस्पर्धामा छन् ।
नीलो मसी भएको कलमले मात्र मतदान गर्ने ब्यवस्थासहित सुरु हुने मतदानमा प्रदेश १ बाट प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाध्यक्ष २ सय ७४ गरी ३ सय ६७ मतदातामध्ये संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको दुर्घटनामा मृत्यु भईसकेको छ ।
प्रदेश १ मा महिला ३,अन्य ( खुला ) ३,अपाङ्गा÷अल्पसङ्ख्य १ र दलित १ गरी ८ राष्ट्रियसभा सदस्यमध्ये महिला र अन्य ( खुला) सदस्या निर्बिरोध भएका कारण २ पदका लागि चुनाव हुन लागेको हो ।

मतदाताहरुलाई निर्वाचित भएको प्रमाणपत्र वा मतदाता परिचयपत्र वा नागरिकताका आधारमा मतदान गर्न दिईने छ । मतदातालाई बुथमा कापी,कलम र मोवाइल निषेध गरिएको छ ।
मतदान सकिएपछि सभागृहमै साँझ ४ बजेबाट मतगणना हुने निर्वाचन अधिकृत पाठकले जानकारी दिए । गणना सकिएपछि विहिवार विहान ८ बजे जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा निर्वाचित भएका आठै जनालाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रम तय गरिएको छ ।
मतगणना सहजीकरणका लागि केन्द्रीय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत उर्मिला शाहीको नेतृत्वमा ३ जनाको टोली विराटनगरमा आईपुगेको छ । टोलीमा तथ्याङ्क अधिकृत प्रेमकुमार घिमिरे र अम्बिका रेग्मी छन् ।
प्रदेश १ का स्थानीय तहका प्रमुख,उपप्रमुख,अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यहरु मतदान प्रक्रियामा सहभागी भएका छन् ।
मतदानमा एकल सङक्रमणीय तथा बहुमतीय दुबै निर्वाचन प्रणाली अपनाईएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।
निर्वाचनलाई लक्षित गरी विराटनगरका चोक–चोक र बजारमा सुरक्षा निकायले सुरक्षा सर्तकता बढाएका छन् । 
  

Comments