विद्यार्थीबाट परीक्षा शुल्क उठाउँदै सामुदायिक विद्यालय

इलाम,२२ माघ
सरकारले माध्यमिक तहसम्म निशुल्क शिक्षाको ब्यवस्था गरेको छ । तर इलामका कतिपय सामुदायिक विद्यालयले विद्यार्थीबाट विहिन्न बहानामा शुल्क असुल्दै आएका छन् ।
माईजोगमाई गाँउपालिका ५ स्थित सरस्वती माध्यमिक विद्यालयले अभिभावकलाई पत्र काटेर परीक्षा दस्तुर बुझाउन आग्रह गरेको छ । शैक्षिक सत्रको अन्त्यमा केही समयपछि हुने बार्षिक परीक्षालाई आधारमानी परीक्षा शुल्क बुझाउन विद्यालयले पत्र काटेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले बताएका छन् ।
जिल्लाका धेरै विद्यालयहरूले विद्यालय भर्नाका समयमा पनि विद्यार्थीबाट तोकेरै भर्ना शुल्क लिएका थिए । माङ्सेबुङ्ग गाउँपालिका, चूलाचूली गाउँपालिका, सूर्योदय नगरपालिकालगायतका क्षेत्रमा रहेका दुर्गमका विद्यालयहरूले निजीस्रोतमा शिक्षक राखेर तलब खुवाउनुपर्ने भन्दै विद्यार्थीबाट रकम अशुल गरिरहेका हुन् । जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले विद्यार्थीबाट शुल्क उठाउने कार्य कुनै विद्यालयले गरे त्यो अवैध कार्य हुने बताए ।निजीदर बन्दीमा खटिएको शिक्षकलाई तलबलगायतका बहानामा विद्यालयले शुल्क लिएभने त्यस्ता विद्यालयलाई नियमअनुसार कार्वाही हुने उनले बताए । राहतकोटामा खटिने शिक्षकलाई पनि सरकारले नै तलब दिने बताउँदै गौतमले अभिभावकलाई त्यस्ता विद्यालयको जानकारी गराउन आग्रह गरे ।
Comments