डाक्टर गोविन्द केसीले अनसन जारी राख्न

डाक्टर गोविन्द केसीले अनसन जारी राख्ने निर्णय गर्नुभएको छ । केसीले प्रधानन्यायाधीशका सम्बन्धमा आफूले उठाएका प्रश्नमा अदालतले छानबिन गर्ने भएपनि अन्य माग सम्बोधन नभएकाले अनसन जारी राख्ने बताउनुभयो ।
प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाउँदै केसीले राजीनामाको माग गर्दै पुस २४ गते अनसन सुरू गर्नुभएको थियो । लगत्तै उहा माथि सर्वोच्चमा अवहेलनाको मुद्दा चलेको थियो । मुद्दाकै कारण सोही दिन पक्राउ पर्नुभएका केसी बुधबार तारेखमा छुटनुभएको हो ।
केसीले पराजुली विरुद्धको आफ्नो अभिव्यक्ति अनुसार सर्वोच्चले कागजपत्र झिकाएकाले प्रधानन्यायाधीश पराजुलीले अब सर्वोच्चको नेतृत्व गर्न नमिल्ने समेत बताउनुभएको छ ्। ‘पराजुलीको आधारभुत योग्यता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनैपनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ’, केसीले विज्ञप्तिमा भन्नुभएको छ  ‘निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रूपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ।’
केसीले आफूले माग गरेको राजीनामा अदालतको न्यायिक प्रक्रियाले पुष्टि गरेको दाबी गर्नुभएको छ । गोविन्द केसीले अदालतमा उभिएर प्रधानन्यायाधीश पराजुलीको योग्यता माथि प्रश्न उठाउनुभएको थियो । सर्वोच्चले बुधबार केसीको शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रतिलिपी झिकाउन आदेश दिएको थियो ।
Comments