देवसेनाको रुपमा नाच्छन् सन्थाल पुरुष

 तपाई,हामी सबैले ठाँउ ठाँउमा लाग्ने दशैं मेलामा सन्थाल ( सतार ं) हरु नाँच्ने गरेको पक्कै देखेका छौँ, तर किन नाँच्छन् त सन्थालहरु ? यो कुराको जानकारी सबैलाई नहुन सक्छ ।
   अफ्रिकाको हिहिडीपिपिडी भन्ने ठाँउबाट सुरु भएको सन्थाल जातिको पुर्खौली इतिहास कहिलेदेखि सुरु भएको हो,सो कुराको ठ्याक्कै जानकारी भने आजसम्म प्राप्त हुन सकेको छैन ।त्यसका लागि ठोस इतिहासहरु समेत पाउन सकिएको छैन ।
आदिकालदेखि देवी दुर्गा र कालीको भक्त बताउँने सन्थालहरु दशैंमा देवी दुर्गाको आशीर्वाद पाउँन नाँच्ने गरेका छन् ।प्रदेश नम्बर १ को झापा,मोरङ र सुनसरीमा बढी बसोवास रहेको सन्थालहरुको कूल जनसंख्या १ लाख २२ हजार रहेको छ । सुनसरीको तुलनामा झापाको गौरीगञ्ज गाँउ पालिकामा सन्थालहरुको घना बस्ती  छ ।
मोरङको मझारे,सिसुवनीजहदा,भाथिगछ,होक्लाबारी लगायतका क्षेत्रमा ५ देखि ७ हजारका दरले सन्थालहरुको जनसंख्या रहेको नेपाल सन्थाल आदिवासी उत्थान संघको प्रतिवेदनमा उल्लेख छ ।रतुवामाई नगरपालिकाको साविक गाविसहरु सिजुवामा १७ सय,वरडंगामा १३ सय ८७,राजघाटमा ९ सय ४४ र इटहरा गाविसमा ९ सय ५३ सन्थालको जनसंख्या गणना गरिएको छ ।
परापूर्व कालमा कालीले राक्षससँग लडाँई गर्दा सेनाको रुपमा सन्थाल पुरुषहरु लाठी र मुङग्रोले लडेको हुँदा दशैंका बेलामा दुर्गा मन्दिर सामुन्ने नाँचिने नाचमा देउता चढेका सन्थाल पुरुषहरु मन्दिरको परिक्रमा गर्दे लाठी वा मुङग्रो बोकेको अभिनय गरी नाँच्ने गर्दछन् ।यसले त्यही कुराको पुष्टि गर्छ,सन्थाल पुरुषहरुले कालीदेवतालाई सेनामा प्रमुख मानि युद्ध गरेका थिए । त्यही कारणले गर्दापनि दशैं ( दासाँई एओन ) मा पुरुषहरु मात्र नाँच्ने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष लुखीराम हस्दाले बताए ।सन्थाल जातीहरुको आफ्नै मौलिक परम्परा र नाच हुन्छन् । बडादशैँको अवसर र तिहारमा नाचिने नाचमा धेरै भिन्नता छ ।दशैँको नाच असत्यमाथि सत्यको विजय र देवसेनाको रुपमा सन्थाल पुरुष नाच्छन् भने तिहारमा सन्थाल महिलाहरु नाच्ने गर्दछन् । कुनै सांस्कृतिक कार्यक्रममा वा झाँकीमा सन्थाल जातीले कालीनाच र तिहार नाचभन्दा अलग प्रकारले नाच्नुपर्ने हुन्छ ।
एउटा नाच समूहमा १५ देखि २५ जना नर्तक रहने सन्थाल नृत्यमा २ वटा मादल,१ वटा टामक,२ वटा ढोल,१ वटा कुर्ताल, ५देखि ७ वटा साना ऐनालाई गाँसेर टाउकामा लगाँउन बनाएको पानी हाँसको प्रतिक ( दाहासिम बाहा ) एकै किसिमको जर्सी ( लुगा ) जर्सी माथि लगाउँने धुधुरा, खुट्टामा लगाउँने एकै किसिमको जुराफ र एक मुठा मयुरको प्वाँख आवश्यक हुन्छ ।
सतार नाचगान जान्ने ( इनाएयुरी ) रावण मर्डीका अनुसार ” सतारहरुको पुर्खौली ठाँउ भारतको डुम्का जिल्लामा पानीहाँस पाइने तर नेपालमा नपाइने हुँदा दाआसिम बाहालाई हाँसको प्रतिक स्वरुप टाउकामा लगाँएर नाचिन्छ ” । नाँच टोलीमा राखिएको मयुरको प्वाँखको विशेषता भने अर्कै छ । सन्थाली संस्कृति अनुसार दशैंमा नाँचिने नाँच प्रतिस्पर्धात्मक हुन्छ । एउटा नाँच समूहको धाँमीले अर्को नाँच समूहको नर्तकलाई मन्त्र ( बान ) हान्नेहुँदा सो बखत नाँच टोलीमा राखिएको मयुरको प्वाँख मन्त्र सुरक्षा कवच हुन्छ । यदि नाँच टोलीमा मन्त्रिएको मयुरको प्वाँख राखिएको छ भने अरु समूहको धाँमीले हानेको बान प्रभावहिन हुन्छ ।
यदि मयुरको प्वाँख टोलीमा राखिएको छैन भने मन्त्र प्रभावकारी भएर नर्तक नाँच्नुको सट्टा बेहोस् हुने जानकारी र्भुर्को इपिल सन्थाली संस्कृति युवा क्लबका नाईकी मुर्मुले दिए । नृत्य प्रतियोगिता मन्त्रका आधारमा प्रतिस्पर्धात्मक हुने भएकाले पनि सन्थाल नर्तकहरु सो समयमा बढी आक्रामक र डरलाग्दा देखिने नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष हस्दाको भनाई छ ।
आर्थिक अवस्था कमजोर भएपनि संस्कृति जोगाँई राख्न आफ्नै खर्चले भएपनि हरेक मेलामा नाच प्रदर्शन गर्ने रत्नयुवा क्लब सिजुवाका दुर्गा किस्कुुको भनाई छ ।
नेपालको अति सिमान्तकृत जाती समूहमा सूचीकृत सन्थाल जाती रहनसहन,जीवनशैली,सांस्कृतिक संस्कार र विविधखाले जनशैलीले अरु जातीभन्दा पृथक छ ।आफ्नो लिपी भएपनि त्यसको संरक्षण,सम्बद्र्धन र खोज अनुसन्धान गर्न गर्न नसक्दा तराईको रैथाने जाती सन्थाल संस्कृतिजन्य कुराले पछि परेको छ ।
साँच्चिकै संस्कृति कुनै जाति वा समुदायको पेवा होइन,यसलाई संरक्षण र सर्वद्धन गर्नु हामी सबैको साझा कर्तब्य हो ।
 
 
पुण्य पि अधिकारी 
Comments