खोटाङको गुप्तेश्वर गुफामा पुग्यो गाडी

पूर्वको पशुपतिनाथ मानिने खोटाङको हलेसी नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल गुप्तेश्वर गुफामा गाडी पुगेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको दुक्सिलिमामा रहेको गुप्तेश्वर गुफामा दर्शनार्थी एवम् पर्यटक बोक्ने यात्रुबाहक गाडी पुगेको हो ।

दर्शन एवम् भ्रमणकाक्रममा हलेसी आएपछि गुप्तेश्वर जाने हिन्दु तथा बौद्धमार्गीलाई लक्षित गर्दै गएको वर्ष निर्माण गरिएको सडक सञ्चालनमा आएको स्थानीय युवा किशोर श्रेष्ठले बताउनुभयो ।

हलेसीमा आउने अधिकांश दर्शनार्थी र पर्यटक झण्डै १५ किलोमिटर पूर्वमा रहेको गुप्तेश्वर महादेवस्थान पुग्ने गरेका छन् । हलेसीबाट उक्लिएका हिन्दु र बौद्धमार्गी अर्खौलेको नागीमा गाडी राखेर पैदल गुप्तेश्वर जाने गरेकोमा गएको वर्ष स्थानीयले अर्खौलेबाट गुप्तेश्वर जाने सडक निर्माण गरेका थिए ।

गुप्तेश्वरमा नेपाल बाहेक, सिक्किम, दार्जिलीङ, ल्हासा, भूटान लगायतबाट दर्शनार्थी एबं पर्यटक रिजर्भ गाडीमा आउने गरेका छन् ।

गुप्तेश्वर महादेवको पर्यटन प्रवर्द्धन गर्दै गन्तव्यथलो बनाउनका लागि सडक, सिमेन्टेड पर्खाल, सिँढी, घेराबारा लगायतका संरचना निर्माण गरिएको छ । गुप्तेश्वर आउने दर्शनार्थीको रिजर्भ गाडीले अर्खौलेको नागीमा भरिभराउ हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । 

Comments