पाथीभरा पर्यटन महोत्सव फागुनमा हुने

पाथीभरा पर्यटन महोत्सव तथा म्याराथन प्रतियोगिता फागुनमा हुने भएको छ।  शिवरात्रि तथा सेना दिवसको अवसर पारेर फागुन एक देखि तीन गते सम्म महोत्सव गर्ने निर्णय भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका कार्यवाहक अध्यक्ष रणबहादुर कार्कीले बताउनुभयो । पाथीभरा मन्दिर, कञ्चनजंघा हिमाललगायत धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागीएको हो ।


बैठकले महोत्सव र म्याराथन प्रतियोगिता अवधिभर गरिने कार्यक्रमको तालिकासमेत तयार गरेको समितिका सचिव लक्ष्मी काफ्लेले बताउनुभएको छ । माघ २७ गते पाथीभराधाम र पदमार्गको सरसफाइ गर्ने, २८ गते फुङलिङ नगरपालिका, किरातेश्वर र नागेश्वरसहित फुङलिङ बजारभित्रका धार्मिकस्थलको र २९ गते चण्डेश्वरधाम सफाइ गर्ने कार्यक्रम राखिएको काफ्लेले बताउनुभयो ।  माघ २८ देखि फागुन १ गतेसम्म भने पाथीभरा मन्दिरमा दीप प्रज्वलन तथा भजन कीर्तनसमेत गरिने भएको छ ।


महोत्सवको पहिलो दिन तोमेडाँडाबाट विभिन्न जातजातिका सांस्कृतिक समूहको सहभागितामा सिद्धिडाँडामा रहेको चण्डेश्वरधामसम्म कलश यात्राको कार्यक्रम राखिएको छ भने सोही दिन बिहान ११ बजेपछि मूल कार्यक्रमस्थल नयाँ रणभीम गुल्मको खेलमैदानमा कृषि मेला प्रदर्शनी, औद्योगिक, हस्तकला तथा शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव, सांस्कृतिक कार्यक्रम र सुकेटारदेखि तोक्मेडाँडा ब्यारेकसम्म प्याराग्लाइडिङ कार्यक्रम हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिनुभयो ।

 ३ गते बिहान ७ः३० बजे खुल्ला म्याराथन तथा ८ बजे महिला हाफ म्याराथन कार्यक्रम आयोजना हुनेछ। खुल्ला म्याराथनको दूरी तोक्मेडाँडाबाट पाथीभरा मन्दिर पुगेर पुनः तोक्मेडाँडासम्म तय गरिएको छ भने महिला हाफ म्याराथनतर्फ तोक्मेडाँडाबाट पाथीभरा प्रवेशद्वार भालुगौंडे पुगेर पुनः तोक्मेडाँडासम्म तय गरिएको छ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको लोक तथा सांगीतिक प्रस्तुति रहने छ।  यसबाट आन्तरिक र बाह्य पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको होटल व्यावसायी संघ ताप्लेजुङका अध्यक्ष दिनेश खवासले बताउनु भयो ।

Comments