इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन

मंसिर २१ गते बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि इलाममा निर्वाचन सामग्रीसहित कर्मचारी खटिन थालेका छन् ।

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीहरु लिएर कर्मचारीहरु धमाधम मतदान केन्द्रतिर खटिन थालेको इलामका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका एक सय ४४ मतदान स्थलका दुई सय ६६ वटा मतदान केन्द्रमा तीन हजार २ सय ४ कर्मचारी परिचालन गरिएको हो । जसमा २ हजार २ सय ४ कर्मचारी र १ हजार स्वयमसेवक रहेका छन् ।

हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने कर्मचारी एक, तीन वटा मतपत्र दिने अलगअलग तीन कर्मचारी, दुईजना सहयोगी र दुईजना स्वयम्सेवक खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।

Comments