​कांग्रेसले पराजय स्वीकार गरिसकेको एमाले वरिष्ठ नेता नेपालको दाबी

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो चरणको चुनाव अघि नै कांग्रेसले पराजय स्वीकार गरिसकेको दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कद्वारा आइतबार आयोजित अन्तर्क्िरया कार्यक्रममा नेता नेपालले कांग्रेसले हार स्वीकार गरेकै कारण एजेण्डाभन्दा वाम गठबन्धनविरुद्ध कू–प्रचार गरिरहेको उल्लेख गर्नुभएको हो ।
‘जनता वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर देखिएपछि अत्तालिएर कांग्रेस भ्रमपूर्ण कू–प्रचारमा लागेको छ, जनताको बिचमा आफ्ना एजेण्डा नभएपछि पहिले–पहिले जस्तै कम्युनिष्ट सरकार आए बुढाबुढी मार्न खाल्डो खन्छ भनिरहेका छन्, नेपालले भन्नुभयो, ‘त्यसैले कांग्रेसले दोस्रो चरणको चुनाव अगावै पराजय स्वीकार गरिसकेको छ ।’
वाम गठबन्धनले जिते अभिनायकवाद आउने, नागरिकका मौलिक अधिकार खोसिने जस्ता भ्रमपूर्ण कुतर्क गरेको उहाँले आरोप लगाउनुभयो । नागरिकले नीन पटक बहुमत दिँदा पनि देश सम्हाल्न कांग्रेसले नसकेकाले यसपटक वाम गठबन्धनलाई मतदताले विश्वास गर्ने नेपालको भनाई छ ।
नेपालले पहिलो चरणको निर्वाचनले वाम गठबन्धनले प्रष्ट बहुमत ल्याउने संकेत देखिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिहानीले दिउँसोको संकेत गरे जस्तै पहिलो चरणको निर्वाचनले वामपन्थीको पक्षमा जनलहर देखिएको छ, अब देशमा बहुमतसहितको सरकार बन्छ ।’
उहाँले भ्रष्ट्राचार र ढिलासुस्तीको अन्त्य, कानुनी शासनको प्रत्याभूति, विकासको अभियान तीब्र बनाएर रोजगारीको अवसर सिर्जना गर्न तथा सुखी नेपाली र समृद्ध नेपालको नारा साकार पार्न जनताले वाम गठबन्धनलाई जिताएर बहुमतको सरकार बनाउनुपर्ने बताउनुभयो ।

Comments