मुग्लिन-नारायणगढ पहिरो : हराएका ट्रक ड्राइभरलाई फोन लाग्यो

चितवन, असार ९

नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोमा हराएका ट्रक ड्राइभरसँग टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ । उनले टेलिफोनमा आफू ‘यतै छु’ भन्ने खबर दिएका थिए । प्रहरीले उनी ट्रकबाट हाम फालेर बाहिर रहेको अनुमान गरेको छ ।  

पहिरोले एउटा प्रहरीको भ्यान र एउटा ट्रक बगाएको थियो । भ्यानमा रहेका दुई जनाको शव भेटिएको छ । दुई जना हराइरहेका छन् । ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । उनी सकुशल छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएको थियो । 

प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दिपक मास्केको ज्यान गएको हो । हराइरहेका प्रहरी जवान सन्दिप कार्की र लीलबहादुर चेपाङको खोजी भइरहेको छ ।  

त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ । रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ । कालीखोलाको मुखमा राति ९ बजेर ४० मिनेट जाँदा पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । फर्कने क्रममा मुग्लिनबाट २ दशमलव ५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभएको छ ।

Comments