संविधान संशोधन नगरेसम्म दोश्रो चरणको चुनाव हुन नदिने राजपाको चेतावनी

 

काठमाडौँ, जेठ ३ – संविधान संशोधन नगरेसम्म दोश्रो चरणको चुनाव हुन नदिने मधेसी मोर्चा आवद्ध राष्ट्रिय जनता पार्टीले चेतावनी दिएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसंगको बैठकमा राजपाका नेताहरुले यस्तो चेतावनी दिएका हुन । 

पहिलो चरणको चुनाव सम्पन्न भइसक्दा पनि संविधान संशोधन गर्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले कुनै पहल नगरेको भन्दै उनीहरुले आफ्ना मागहरु आलटाल गरी दोश्रो चरणको चुनाव गर्न खोजिए ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका थिए । 

बैठकमा राजपा नेपालका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरेसम्म चुनावको वातावरण नबन्ने भन्दै वातावरण नबनेसम्म तराई मधेसमा चुनाव हुनै नदिने चेतावनी दिनु भएको थियो । उहाँले दोश्रो चरणको चुनावअघि संविधान संशोधन गर्नुपर्ने, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने र आन्दोलनका क्रममा लागेका मुद्धा फिर्ता लिइनुपर्ने बताउनु भयो । 

जवाफमा कांग्रेसका शीर्ष नेताहरुले यही जेठ ३१ गते हुने दोस्रो चरणको चुनावमा राजपा नेपालको सहभागिता निश्चित गराउन संविधान संशोधन गरिने बताएका थिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मधेसी मोर्चाका माग सम्बोधन गर्नका लागि संविधान संशोधन प्रस्तावलाई पारित गर्न संसदमा चाहिने बहुमत पु¥याउन अन्य पार्टीसँग छलफल गर्ने दुई दलबीच निर्णय भएको थियो । यसका लागि भोलि नै राष्ट्रिय प्रजातन्त्र पार्टीसंग छलफल गर्ने निर्णय पनि दुई दलका नेताहरुले गरेका छन ।

छलफलमा कांग्रेसका नेताहरुले तराई मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने सम्बन्धमा सरकारका तर्फबाट काम भइरहेको भन्दै राजपा नेपालको मागबमोजिम आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने काम भइसकेको पनि बताएका थिए । यस्तै उनीहरुबीच राजपा नेपाललाई दोश्रो चरणको चुनावमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने विषयमा कुरा भएको थियो । 

Comments