हिन्दु राष्ट्र बनाउने घोषणापत्र बोकेर क्रिश्चियन युवती विजयी

 

काठमाडौं, जेठ ३ – हिन्दु धर्मको पक्षमा वकालत गरिरहने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्रिश्चियन धर्मावलम्बी उम्मेदवार विजयी भएका छन् । 

धादिङको रुबिभ्याली गाउँपालिकाको उपाध्यक्षमा क्रिश्चियन धर्मालम्बी बिना लामा विजयी हुनुभएको हो । उहाँले १ हजार ४ सय ९ मत ल्याउँदै नेकपा माओवादी केन्द्रकी अमृता तामाङलाई हराउनुभएको हो ।  

बिना कलाकार पनि हुनुहुन्छ । उहाँले तामाङ भाषाका गीत गाउनुका साथै केही म्युजिक भिडियोमा अभिनय पनि गर्नुभएको छ । कलाकार लामाको समर्थनमा प्रचार गर्न कलाकार तथा राप्रपाकी नेतृ कोमल वली हेलिकप्टर चार्टर गरेर रुवी भ्याली पुग्नुभएको थियो । 

हिन्दु राष्ट्र बनाउने चुनावी घोषणापत्र बोकेर चुनाव लड्नुभएकी लामाले प्रमुख पार्टीहरुलाई चकित बनाउँदै जित्नुभएको हो । रुवी भ्यालीमा प्रमुख पद पनि राप्रपाले नै जितेको हो । राप्रपाका चेरुङ तामाङ अध्यक्षमा विजयी हुनुभएको हो ।

विधानमै हिन्दु धर्म र राजसंस्थालाई उल्लेख गरेको राप्रपालाई निर्वाचन आयोगले विधानबाट हिन्दु धर्म र राजसंस्था हटाउन निर्देशन दिएको थियो । तर राप्रपाले आन्दोलनबाटै निर्वाचन आयोगको निर्देशन फिर्ता गराएको थियो । विधानमा हिन्दु राष्ट्र कायम राख्नका लागि राप्रपाका अध्यक्ष कमल थापा आफू उपप्रधानमन्त्री रहेको मर्यादा समेत विर्सेर सडकमा उत्रनुभएको थियो । 

Comments