साउदीमा आममाफी पाएर ७ नेपाली फर्किए, ४ हजार बढी प्रक्रियामा

 

उदयपुर, वैशाख २६- साउदी सरकारले दिएको आममाफीको सदुपयोग गर्दै मंगलबार ७ जना नेपाली फर्किएका छन् । लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट गएर अलपत्र परेका १४ जना मध्ये सातजना फर्किएका हुन् । 

फर्किनेमा उदयपुरका चेतबहादुर तामाङ, धादिङका प्रेमबहादुर क्षेत्री, महोत्तरीका लालबहादुर चौधरी, सर्लाहीका आनन्द थापा, र झापाका अनी मगर रहेका छन् ।

उनीहरु साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा झन्डौ दुइ वर्ष पहिले पुगेका थिए । कम्पनी राम्रो नभएको र तलब पनि नपाएको भन्दै उदयपुरमा सञ्चालित सामिको सूचना तथा परामर्श केन्द्रमा उद्धारका लागि फोन मार्फत आग्रह गरेका थिए । ६ महिना देखि तलब नपाएको भन्दै तलब दिलाइ नेपाल फिर्काइदिन आग्रह गरेका थिए । 

उनीहरु अलपत्र अवस्थामा परेको खबर उज्यालो अनलाइनमा प्रकाशन भएपछि म्यानपावर कम्पनीले खानबस्नका लागि खर्च पठाएको थियो ।

आउने बेलामा कम्पनीले सबै तलव दिएपछि आफैं टिकट काटेर नेपाल फर्किएको उनीहरुले बताएका छन् । साउदी सरकारले आममाफी दिएपछि अवैध रुपमा बसिरहेका आप्रवासी घर फर्किन थालेका छन् । साउदीस्थित नेपाली दूतावासका अनुसार चार हजार भन्दा बढि घर फर्किने प्रक्रियामा सहभागी भएका छन् । 

‘सलंघन बिनाको देश’ बनाउने अभियान अन्तरगत साउदीले आममाफिको घोषणा गरेको हो । श्रम अवधिभन्दा बढि बसेका, धार्मिक भ्रमणमा गएर बसेका अथवा अन्य प्रक्रियाबाट साउदी पुगेर अवैध रुपमा बसेका आप्रवासी यो प्रक्रियामा सामेल हुन सक्नेछन् ।

Comments